असोज ३० गते २०८३ || October 16, 2026

दक्ष जनशक्ति उत्पादनमा त्रिविको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री


शनिबार, असोज ५ २०८११२:५१

दक्ष जनशक्ति उत्पादनमा त्रिविको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री

उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

शनिबार त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले नेपालको सबैभन्दा जेठो र विद्यार्थी सङ्ख्याका दृष्टिले विश्वकै ठुला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको हो ।

उपप्रधानमन्त्री पौडेलले संसारले विकास र पर्यावरणीय दिगोपन बिचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आजको दिनमा संसारले विकास र पर्यावरणीय दिगोपन बिचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन जस्ता समस्याहरू केवल पर्यावरणीय चुनौतीहरू मात्र होइनन्, यी समस्याहरू हाम्रो अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय हुन् ।’’

विश्वभर जलवायुसम्बन्धी विपत्तिहरूको सङ्ख्या र तीव्रता दुवै बढिरहेको उहाँको भनाइ छ । ‘‘बाढी, अनियमित वर्षा, हिमनदीहरूको पग्लिने क्रम र समुद्री सतहको वृद्धि अहिले हाम्रा लागि साझा चुनौती बनेका छन् । यी घटनाहरू एक–अर्काबाट अलग छैनन् र होइनन् पनि ।,’’ उहाँले भन्नुभयो, ‘‘यी त एक ठुलो प्रणालीगत समस्याको सङ्केत हुन्, जसलाई सुधार गर्न हामीले हाम्रो विकासको सोचाइमा परिवर्तन ल्याउनै पर्छ । कुनै पनि विकासको मोडेल जसले पर्यावरणीय पक्षलाई बेवास्ता गर्छ – त्यो न त पूर्ण हुनेछ, न त दिगो हुनेछ ।’’

उहाँले हिमालयको काखमा रहेको हाम्रो देश जलवायु परिवर्तनको प्रभावका कारण अत्यन्तै जोखिममा परेका मुलुकमध्येको एक रहेको बताउनुभयो ।

‘‘हिमनदीहरू पग्लिने समस्या, मनसुनमा आएको परिवर्तन र बाढी तथा पहिरोको सङ्ख्या बढ्दै जानु हाम्रो अर्थतन्त्र, विशेषगरी कृषि, जलविद्युत र पर्यटनका लागि चुनौती बनेका छन् । त्यसैगरी, नेपालको समृद्ध जैविक विविधता पर्यावरणीय ह्रासका कारण सङ्कटमा परिरहेको छ ।,’’ उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘‘तराईका जङ्गल, चुरे पहाड र स्वच्छ नदीहरू जोखिममा छन्, जसले वन्यजन्तु मात्र नभई ती प्राकृतिक स्रोतमा निर्भर रहेका लाखौँ नागरिकहरूको जीवन निर्वाहलाई समेत खतरा पुर्‍याएको छ । हाम्रा नदी, वन, र जैविक विविधता केवल हाम्रो अर्थतन्त्रको आधारशिला मात्र होइनन्, हाम्रो संस्कृति, इतिहास, र पहिचानको पनि महत्त्वपूर्ण अङ्ग हुन् ।’’

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनमा आमन्त्रण गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु ।

नेपालको सबैभन्दा जेठो र विद्यार्थी सङ्ख्याका दृष्टिले विश्वकै ठुला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यसअन्तर्गतको केन्द्रीय अर्थशास्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्नमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । यसका लागि म विश्वविद्यालय र विभागको भूमिकाप्रति सह्राना गर्न चाहन्छु ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend