असोज ३० गते २०८३ || October 16, 2026

क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्नुपर्छ : राष्ट्रपति पौडेल


बिहीबार , असोज १० २०८११२:२३

क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न आवश्यकरहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विषेश ध्यान पु¥याउनु आग्रह गर्दछु ।” उहाँले स्वास्थसम्बन्धी पूर्वाधारको विकासमा पनि जोड दिनुभयो ।

“स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो ।,” उहाँले भन्नुभयो, “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नविनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नेतर्फ सरकार र नीजि क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला क्यान्सर रोगबाट ग्रसित भई विदेश गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमै यस रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो क्यान्सर अस्पताल निर्माण भएको जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend