असोज २९ गते २०८३ || October 15, 2026

डडेल्धुरा बस दुर्घटना : मृतक चार जना एकै परिवारका


बुधबार, असोज ३० २०८१११:१९

डडेल्धुरा बस दुर्घटना : मृतक चार जना एकै परिवारका

डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ । चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ ।

मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडी ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उहाँका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा छन् । बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११ः४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । बसमा १८ जना सवार थिए ।

चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिएका छन्  ।

दुर्घटनामा परी घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमती साउद, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं.७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा घाइते भएको प्रहरीले जानकारी दिएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend