काठमाडौँ - नेपाल सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) प्रणालीअन्तर्गत रासायनिक मल खरिद प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कमलराज गैरेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । भारतले पनि यस्तै कार्यदल गठन गरेको छ ।
दुवै कार्यदलको संयुक्त भर्चुअल बैठक चैत २ गते बस्न लागेको कृषिमन्त्री महिन्द्रराय यादवले जानकारी दिए । संयुक्त बैठकले नेपालले खरिद गर्ने मलको मूल्य निर्धारणलगायत आयातका लागि अन्य मापदण्ड तय गर्ने उनले बताए ।
मल खरिद बिक्रीसम्बन्धी सम्झौतापत्रमा दुवै देशका अधिकारीले हस्ताक्षर गरिसकेका छन् । फागुन १६ गते भएको सम्झौतामा नेपालका तर्फबाट कृषि सचिव डा. गोविन्द शर्मा र भारतका तर्फबाट रासायनिक तथा मलखाद मन्त्रालयका सचिव राजेन्द्रकुमार चतुर्वेदीले हस्ताक्षर गरेका थिए। सम्झौतापछि मल कसरी ल्याउने, कुन सिजनमा कति मल ल्याउने, त्यसको मूल्य कसरी गर्नेलगायत अन्य प्रक्रियाबारे छलफल गर्न दुवै देशको संयुक्त कार्यदल बनेको हो ।
सो कार्यदलमा संयोजक सहसचिव गैरेसहित कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्की, वैदेशिक सहायता समन्वय शाखाका प्रमुख शङ्कर सापकोटा, आर्थिक शाखा प्रमुख निर्मल न्यौपाने, कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका प्रमुख प्रियमवदा जोशी रहेको छ । यसमा परराष्ट्र, अर्थ, कानुन र उद्योग, वाणिज्य मन्त्रालयबाट एक\एक जना उपसचिव रहने कृषि मन्त्रालयका सहसचिव गैरे बताए।