असोज ३० गते २०८३ || October 16, 2026

‘साम्बा’ को आगमनले उत्साहित नेपाल आज माल्दिभ्ससँग खेल्दै


सोमबार, कात्तिक ५ २०८११२:०८

‘साम्बा’ को आगमनले उत्साहित नेपाल आज माल्दिभ्ससँग खेल्दै

साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज (सोमबार) माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने खेलमा माल्दिभ्सविरुद्ध स्पस्ट जित निकाल्ने लक्ष्य राखेको छ । लगातार गोलको मौका पाएपनि यसअघि शुक्रबार भएको समूह ‘बी’ को आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बरबरीमा रोकिएको थियो ।

भुटानसँग इतिहासमै पहिलो पटक बराबरीमा रोकिएको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्ससँगको खेल निकै महत्वपूर्ण रहेकको छ ।

भुटानसँगको खेलमा नेपालको अभाव खड्किएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आइतबार राति नै नेपाल आइपुग्नुभएको छ ।  ‘साम्बा’ को आगमनले नेपाल थप उत्साहित बनेको छ । 

फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यवसायिक फुटबल खेल्दै आउनुभएकी  ‘साम्बा’ले माल्दिभ्सबिरुद्ध खेल्ने बताईएको छ ।

नेपालका अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाउनुभएकी ‘साम्बा’ गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध हुनुभएको थियो । साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि (फिफा विन्डो) मा नपरेकोले उहाँलाई फ्रान्सेली क्लबले छाड्न अस्वीकार गरेको थियो ।

यस्तै फिफा विन्डोमा खेल नहुँदा क्लब ड्युटी गर्नुपरेका कारण उहाँले गत फेब्रुअरीमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको फाइनल खेल पनि गुमाउनु भएको थियो । 

महिला साफको पहिलो खेल बराबरीमा रोकिएपछि नेपाल र भुटानले एक एक अङ्क बनाएका छन् । यस्तै समूहको आफ्नो पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलले हराएको थियो । समूहमा श्रीलङ्का तीन अङ्कसहित शीर्षस्थानमा छ । माल्दिभ्सले भने अङ्कको खाता खोल्न सकेको छैन । 

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend