राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनुभएको छ।
ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमीको आइतबार नगरकोटमा उद्घाटन गर्दै उहाँले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताउनुभयो।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ। आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महसुस वर्तमान विश्वले गरिरहेका छ। आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौँतारिरहेकाे यही कारण हो।’
उहाँले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताउनुभएको छ।