नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्डा झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
‘‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवङ्गत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुङ्गानाप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘२०८१ साल मङ्सिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मङ्सिर ४ गते मङ्गलबार दिन केन्द्रीय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रीय कार्यालयमा शोक सभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’’