असोज २९ गते २०८३ || October 15, 2026

बजेट अधिवेशन आजदेखि सुरु


सोमबार, वैशाख २८ २०८३१२:१९

बजेट अधिवेशन आजदेखि सुरु

सङ्घीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति  रामचन्द्र पौडेल ले अधिवेशन आह्वान गर्नुभएको हो । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठकसमेत आयोजना हुँदैछ ।

अधिवेशन सुरु भएसँगै संसद्मा सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल, वार्षिक बजेट प्रस्तुत तथा पारितलगायतका संवैधानिक जिम्मेवारी अघि बढ्नेछन् । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ भने असार मसान्तभित्र बजेट पारित र प्रमाणीकरण प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता संसद्सामु रहेको छ ।

यसपटक अधिवेशन केही ढिला गरी सुरु भएकाले संसद्माथि कार्यतालिकाको अतिरिक्त दबाब परेको छ । संसद् सचिवालयले भने अधिवेशन र संयुक्त बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

अधिवेशनको अर्को महत्त्वपूर्ण कार्यसूची अध्यादेशसम्बन्धी रहनेछ । संसद् अधिवेशन नरहेका बेला राष्ट्रपतिबाट जारी भएका आठ वटा अध्यादेश आजै दुवै सदनमा पेस गरिने तयारी छ । संवैधानिक व्यवस्था अनुसार ती अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित र प्रमाणीकरण गर्नुपर्नेछ ।

यसैबीच, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता अर्थात् प्रिबजेटमाथि पनि छलफल अघि बढ्नेछ । वैशाख ३१ गते प्रिबजेट संसद्मा पेस गरिनेछ भने जेठ ४, ५ र ६ गते छलफल र पारित प्रक्रिया पूरा गरिने कार्यतालिका तय भएको छ ।

अधिवेशनमा यसअघि दर्ता भएका विधेयकहरूको प्रक्रिया पनि अगाडि बढाइने भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, चलचित्र विधेयकलगायतका कानुन निर्माण प्रक्रियाले गति लिनेछन् । सरकारले प्राथमिकतामा राखेका ४० भन्दा बढी विधेयक पनि यही अधिवेशनमार्फत संसदीय प्रक्रियामा लैजाने तयारी गरेको छ ।

त्यसैगरी प्रतिनिधि सभा नियमावली २०८३ को मसौदामाथि छलफल र स्वीकृतिको प्रक्रिया पनि यही अधिवेशनमा अघि बढ्नेछ । नयाँ नियमावली लागू भए प्रश्नोत्तरलगायतका संसदीय अभ्यास थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यसैबीच, सरकारको वार्षिक नीति तथा कार्यक्रम आज अपराह्न ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति  रामचन्द्र पौडेल ले प्रस्तुत गर्नुहुनेछ । संसद् सचिवालयले सदस्यहरूलाई बैठक सुरु हुनुभन्दा १५ मिनेटअघि बैठक कक्षमा उपस्थित हुन सूचना दिइसकेको छ । नीति तथा कार्यक्रममाथि वैशाख ३० गते छलफल, संशोधन र पारितको कार्यसूची तय गरिएको छ ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend