प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका छन । सांसद प्रेम सुवालले युवालाई सम्बोधन गर्न विद्यालय शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न जरूरी रहेको बताए ।
सांसद डा अमरेशकुमार सिंहले देशमा हाल लोकतन्त्रभन्दा पनि नेतातन्त्र हावी रहेको बताए । उनले नेतातन्त्रको संरक्षणमा भ्रष्टाचारी र विचौलिया रहेको भन्दै जनताको पक्षमा काम गरिनुपर्ने बताए । सांसद सूर्यबहादुर थापा क्षेत्रीले अहिलेको अवस्था आउनुमा अघिल्ला सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै पूर्वराजाको पक्षमा भइरहेको प्रदर्शन संविधान विरोधी रहेको र राजतन्त्र असन्तुष्ट पक्षले हुइँया मच्चाउँदैमा नफर्किने धारणा राखे ।
सांसद सुमना श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन । “विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न सरकारलाई सुहाउँछ ? विद्यार्थीलाई सुरक्षित वातावरणमा पढ्ने वातावरण बनाउनुपर्छ ।” उनले भने, “सरकारी शिक्षालय तोडफोड गर्ने विद्यार्थीलाई किन कारबाही हुँदैन ?”
सांसद भगवती चौधरीले महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिए । उनले भने , “जनताले के पाएका र जनताले के पाउन बाँकी छ ? छलफल गरौ न”, उनले भने, “सरकारलाई मात्रै गाली गरेर हुँदैन । मिलेर अगाडि बढ्नुपर्छ ।”