काठमाडौं नेपाल टी-२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९ रन बनाउँदा जवाफमा फार वेष्टले १० रन मात्र बनाउन सक्यो ।
त्यसअघि १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी अल स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि स्कोर बराबरी भएको थियो । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ५ रन चाहिएको थियो तर फार वेष्टका करण केसीको बलिङमा लुम्बिनीले ४ रन मात्र जोड्न सक्यो । अल स्टार्का लागि गुल्शन झाले ४ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३६ रन बनाएका थिए । ओपनर लहिरु मिलान्थाले ३४ रन बनाए । यस्तै विपुल शर्माले ३१ रन योगदान गरे ।