नवजीवन सहकारी संस्था लिमिटेडले कैलालीमा एक करोड ५६ लाख रुपियाँ खर्चेर राइस मिल सञ्चालनमा ल्याएको छ। धनगढीमा रहेको सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँमा राइस मिल सञ्चालन गरेको हो। मिलबाट उत्पादित मोटो चामल र मसिनो चामल बिक्री वितरण गर्न थालिएको छ।
सहकारीले कृषकको धान आफै खरिद गरेर आफ्नै ब्राण्डको चामल उत्पादन गरी बिक्री वितरण गर्न थालेको सहकारीका अध्यक्ष देवबहादुर बमले बताए । उनले सहकारीको विभिन्न डिपोसहित भाटभटेनी सुपरमार्केटबाट चामल बिक्री वितरण थालेको जानकारी दिए। सहकारीले यसवर्ष पाँच करोड ७२ लाख ८१ हजार रुपियाँ खर्चेर १६ हजार २८७ क्वीन्टल धान खरिद गरेको छ।