इजरायल-हमास युद्धका कारण क्षतिग्रस्त भएको गाजा सहरमा हजारौँ प्यालेस्टाइनी नागरिकहरूले लगातार दोस्रो दिन शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएका छन् ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार प्रदर्शनमा भाग लिएका प्यालेस्टाइनी प्रदर्शनकारीहरूले १७ महिनादेखि जारी इजरायलसँगको युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध नाराबाजी गरेका हुन् । सार्वजनिक रूपमा प्यालेस्टाइनी नागरिकहरूले हमासविरुद्ध नाराबाजी गर्ने कार्य दुर्लभ र असाधारण मानिन्छ ।
एपीका अनुसार गाजाको बीत लाहियामा मंगलबारदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा बुधबार पनि लगभग ३,००० जनाले सहभागिता जनाएको बताइएको छ ।
गाजा सहरको ध्वस्त शिजायाहमा पनि दर्जनौँ पुरुष प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले "हमास, गेट आउट!" भनेर नारा लगाएका थिए ।
शुरुमा केही दर्जन मानिसहरूले गरेको युद्धविरोधी प्रदर्शन थियो, तर पछि २,००० भन्दा बढी मानिसहरू सामेल भई हमासविरुद्ध नारा लगाउन थालेको समाचार संस्था एपीले उल्लेख गरेको छ ।