पाकिस्तानकी चर्चित टिकटक स्टार सना युसुफको आफ्नै घरमा गोली हानी हत्या गरिएको छ । १७ वर्षीया युसुफको घटनास्थलमै मृत्यु भएको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार साँझ इस्लामाबादको जी–१३ सेक्टरमा रहेको युसुफको घरमा एक अज्ञात व्यक्ति प्रवेश गरी निकै नजिकबाट दुई गोली प्रहार गरेको बताइएको छ । छातीमा गोली लागेकी युसुफलाई तत्काल पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज लगिएकोमा डाक्टरहरूले मृत घोषणा गरेका थिए ।
स्थानीय प्रहरी अधिकारी मलिक आसिफले हत्यारा पहिलेदेखि चिनजानको व्यक्ति हुनसक्ने अनुमान गरेका छन् । घटनाको बेला सना युसुफकी आमा र काकी घरमै रहेको र १५ वर्षे भाइ गाउँ गएको बताइएको छ । आमाले हत्याराको पोशाक कालो सर्ट र पाइन्ट रहेको, शरीर सामान्य र उचाइ मध्यम रहेको बयान दिएकी छन् ।
सना युसुफको हत्या भएको केही समयपछि उनको अन्तिम इन्स्टाग्राम भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडिओमा उनी जन्मदिनको केक काट्दै साथीहरूसँग रमाइरहेकी देखिन्छिन् । यो भिडिओ नै उनको अन्तिम साझा क्षण बन्यो ।
घटनापछि सामाजिक सञ्जालमा #JusticeForSanaYousaf ट्रेन्डिङ भएको छ । प्रयोगकर्ताहरूले दोषीको खोजी गरी न्याय दिलाउन माग गरेका छन् ।
यसअघि पनि पाकिस्तानमा सामाजिक सञ्जाल प्रयोगका कारण महिलाहरू हिंसाको सिकार भएका छन् । गत जनवरीमा क्वेटामा एक बुवाले टिकटकमा सक्रिय भएकी आफ्नी छोरीको गोली हानी हत्या गरेका थिए ।