काठमाण्डौँ - खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाई पुनः उपभोग गर्न पाउँदा धनुषाका किसान हर्षित देखिएका छन् । मधेश प्रदेशको धनुषा जिल्लास्थित मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पर्ने सीमा स्तम्भ नं २८८ देखि २८९/८ वरिपरिको जग्गा जमुनी नदीले बहाव परिवर्तन गर्दा नदीको सीमाना भारततर्फ पर्न गएको जग्गा फिर्ता हुने आससमेत मारेका किसानले पुनः आफ्नो जमिन उपभोग गर्न पाउँदा हर्षित देखिएका हुन् ।
नेपाल तथा भारत दुवैतर्फका सीमा सुरक्षा बलको उपस्थितिमा दुवैतर्फका किसानले आफ्नो लालपुर्जाअनुसारको जग्गा उपभोग गर्न पाउने भनी यही पुस १२ गतेको निर्णयमा उल्लेख भएको मुखियापट्टी गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए । फियान नेपालका मधेश प्रदेश संयोजक नन्दनी यादवले विगत एक वर्षदेखि उक्त समस्यामा परेका किसानहरूको पक्षमा अभियान चलाउने काम गरिरहेको बताए ।