अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारका कुनै पनि अधिकारी यस वर्ष दक्षिण अफ्रिकामा हुने जी-२० सम्मेलनमा सहभागी नहुने घोषणा गरेका छन् । उनले शुक्रबार त्यहाँका सेता किसानहरूमाथि भइरहेको दुर्व्यवहारलाई देखाउँदै अमेरिकी सहभागिता नहुने घोषणा गरेका हुन् ।
ट्रम्पले यसअघि नै आफू स्वयं पनि उक्त सम्मेलनमा सहभागी नहुने बताएका थिए । उनको सट्टा उपराष्ट्रपति जे.डी. भान्स जाने तय भए पनि अब उनी पनि दक्षिण अफ्रिका जाने छैनन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘दक्षिण अफ्रिकामा जी-२० आयोजना हुनु पूर्ण रूपमा लज्जास्पद विषय हो ।’
अफ्रिकी सरकारले भने रंगभेद प्रणाली अन्त्य भएको ३० वर्षभन्दा बढी भइसकेको र अझै पनि गोरा मानिसहरू कालाहरूभन्दा धेरै समृद्ध जीवन बिताइरहेका बताउँदै आएको छ ।
राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पलाई प्रतिक्रिया दिँदै भने, ‘गोरा किसानमाथि अत्याचारको समाचार पूर्ण रूपमा झूटा हुन् ।’
यसै हप्ताको सुरुमा मियामीमा दिएको भाषणमा ट्रम्पले भनेका थिए, ‘दक्षिण अफ्रिकालाई जी-२० बाट बाहिर निकाल्नुपर्छ ।’