असोज २९ गते २०८३ || October 15, 2026

विद्यार्थीको अपहरणपछि हत्या, ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ


पिपल अनलाइन
शनिबार, पुस १६ २०७९०१:१७

विद्यार्थीको अपहरणपछि हत्या, ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ

काठमाण्डौँ- पर्सामा आफ्नै विद्यार्थीको अपहरणपछि हत्या गरेको आरोपमा शिक्षक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जस्थित गुरुकुल इङ्लिश बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीको अपरहणपछि हत्या गरेको आरोपमा पक्राउ परेका शिक्षक सहित दुई जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । 

विद्यार्थीको अपहरणपछि ५० लाख फिरौती मागेको मेसेजको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक एसपी कोमल शाहले बताए । वीरगञ्ज महानगरपालिका-२५, खल्वा टोला सिर्सियास्थित गुरुकुल इङ्लिश बोर्डिङ स्कूलको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय निरजकुमार पासवानको अपहरणपछि हत्या भएको छ । उनको हत्यामा संलग्न रहेका तीन जनामध्ये वीरगञ्ज १७, अलौंका २४ वर्षीय कृष्णा भन्ने श्यामप्रसाद यादव र धोबनी गाउँपालिका १ घोडदौलपिप्राका ३० वर्षीय दिलीपकुमार पटेललाई पक्राउ गरिएको हो । पटेल गुरुकुल विद्यालयकै शिक्षक हुन् ।

निरज हराएको भन्दै उनको परिवारले मंसीर ८ गते जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसको १२ दिनपछि गर्दै मंसीर २० गते निरजका बुबा श्रीराम हजरा दुसादको मोबाइलमा एउटा मेसेज भेटिएको एसपी शाहले बताए ।

दुवै जनाले अपहरणपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरूले निरजलाई बाँधेर राखेका थिए। बाँधिएको डोरी फुकालेर निरज भाग्न खोज्दा आफ्नो पहिचान खुल्ने डरले अपहरणकारीले घाँटी अठ्याएका थिए । घाँटी अँठ्याउँदा निरजको ज्यान गएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । त्यसपछि उनको शव स्कूलको पुरानो भवन रहेको शौचालयको सेफ्टीट्यांकमा गाडेका थिए। निरजको शव प्रहरीले पुस १० गते फेला परेको थियो ।


  • सम्बन्धित विषय:

  • # विद्यार्थीको अपहरणपछि हत्या, ५० लाख फिरौती माग्ने शिक्षक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend