सहकारीका पदाधिकारी तथा सञ्चालक पुर्पक्षका लागि थुनामा जाने र पीडितले रकम फिर्ता पनि नपाउने समस्याले धेरै बचतकर्ताको जीवन नै संकटमा पर्न गएको छ । पछिल्लो पटक ८८ करोड ७० लाख रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको सहकारी हो– पोखरा सहकारी ।
पोखरा सहकारीको रकम हिनामिनामा १९ कात्तिकमा अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित ८ सञ्चालक पक्राउ परे । उनीहरूमाथि अनुसन्धान जारी भएर अदालतमा मुद्दा दायर हुनुअघि नै प्रहरी, सरकारी वकिलको कार्यालय, सहकारी रजिस्ट्रारको कार्यालय, सहकारी सञ्चालक, सेयर सदस्य र ऋणीहरूको पहलमा पक्राउ परेका सबै जना हिरासतबाट छुटेका छन् ।
पोखरामा रहेका ७ सहकारीको ५ अर्ब रुपैयाँ हाराहारी हिनामिना भएको मुद्दा अदालत पुगेपछि ३५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
तीमध्ये पनि जेनजी आन्दोलनका क्रममा २४ भदौमा कास्की कारागारबाट फरार करिब १० जना अझै फर्किएका छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी पोखराकै हो । १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको भनिएको यो सहकारी मार्फत रविमाथि अनुसन्धान सुरु भएपछि पक्राउ परे पनि धरौटीमा छुटे । तर, बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि पुर्पक्षका लागि कारागारमै छन् ।
पोखराको सूर्यदर्शन सहकारीकै ५ जना अहिले पनि पुर्पक्षका लागि कारागारमै छन् । पोखराका शिवशिखर, प्राइम, इमेज, विन्ध्यवासिनी, मित्रमिलन र संघर्षशील सहकारी अदालतसम्म पुगेको छ । अहिलेसम्म कुनै पनि सहकारीको समस्या समाधान हुन सकेको छैन भने ३ वर्र्षभन्दा लामो समयदेखि पीडित बचतकर्ताले रकम फिर्ताका लागि सडक संघर्षदेखि सरकारका पदाधिकारीदेखि न्यायालयसम्मको ढोका ढकढकाएका छन् । तर, समस्या सल्टिएको छैन ।