जनप्रशासन क्याम्पसमा MPA अन्तर्गत CMAT 2026 भर्ना प्रक्रियामा देखिएको अन्याय, अव्यवस्था तथा विद्यार्थी विरोधी निर्णयको विरोधमा स्वतन्त्र विद्यार्थी युनियनले सशक्त आन्दोलन सुरु गरेको छ। स्ववियुका सदस्य लगायत अन्य पदाधिकारी र सहायक सचिव हेमन्त शाहीको नेतृत्वमा विद्यार्थीहरूले क्याम्पस प्रशासन विरुद्ध र त्रिभुवन विश्वविद्यालयमा कडा दबाब मूलक कार्यक्रम सञ्चालन गरेका छन्।
CMAT 2026 मा सहभागी भएका २९०० भन्दा बढी विद्यार्थी मध्ये ठूलो संख्यामा २४०० विद्यार्थी उत्तीर्ण भइ सकेको अवस्थामा पनि भर्ना प्रक्रिया स्पष्ट र व्यवस्थित नहुनु,Blended तथा Online Mode सम्बन्धी निर्णय अस्पष्ट रहनु तथा विद्यार्थीको अध्ययन अधिकार कुण्ठित हुनु अत्यन्त गम्भीर विषय भएको शाहीले बताएका छन्। उनका अनुसार कसैलाई पनि पढाइबाट वञ्चित गर्नु हुँदैन,सबै विद्यार्थीलाई सकेसम्म अध्ययनको अवसर सुनिश्चित गर्नु प्रशासनको नैतिक र संस्थागत दायित्व हो।
यस विषयमा आज स्ववियुले Dean Office, Rector Office तथा Registrar Office मा औपचारिक रूपमा विज्ञप्ति बुझाइ सकेको जनाउँदै शाहीले अब सम्बन्धित निकायहरूले तत्काल समन्वयमा छलफल गराई Merit List को आधारमा निष्पक्ष, न्यायोचित र पारदर्शी ढङ्गले CMAT 2026 मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीको भर्ना प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। समस्या समाधान प्रति प्रशासन र त्रिभुवन विश्विद्यालयका पदाधिकारी गम्भीर नदेखिएपछि विद्यार्थीहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन्। शाहीले भने, “हाम्रो माग पूरा नभएसम्म तालाबन्दी खुल्दैन। यो आन्दोलन विद्यार्थीको भविष्य र शिक्षाको अधिकार जोगाउन गरिएको शान्तिपूर्ण संघर्ष हो।”
शाहीले सम्बन्धित निकायहरूलाई जस्तै DEAN office, Rector office , register office र उपकुलपतिको कार्यकाललाई तत्काल समस्या समाधान नगरे त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी स्वयंले बेहोर्नुपर्ने चेतावनी समेत दिएका छन्।

