पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आजदेखि आरम्भ भएको छ । पौराणिक तथा धार्मिक महत्त्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालि नदी क्षेत्रमा स्वस्थानी सुरु भएसँगै साँखुको शालीनदी क्षेत्रमा भक्तजनको घुइँचो लागेको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले घरघरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा सुरु भएको हो ।
पुस शुक्ल पूर्णिमादेखि सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्नेछ । माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात–खुट्टाका नङ काट्ने, एकचित्त भई निराहार बस्ने तथा पूर्णिमाको बिहान सबेरै नदीमा स्नान गरी पूजा गर्ने परम्परा रहेको छ । त्यसपछि मन्त्रोच्चारणसहित शंखजल ग्रहण गर्ने चलन छ ।
शंखजल ग्रहण गरेपछि कसैलाई नछुने र जुत्ता नलगाउने धार्मिक मान्यता रहेको छ । माधवनारायणको पूजा नगरे स्वस्थानी व्रत अधुरो हुने विश्वास गरिन्छ । स्वस्थानी र माधवनारायणको पूजा–आराधनाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
व्रत अवधिभर व्रतालु तथा अनुष्ठानकर्ताहरू पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायतका तीर्थस्थलहरूमा पैदल यात्रा गर्दै दर्शनका लागि जाने परम्परा पनि रहिआएको छ ।