भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसका विरुद्ध कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ। भेनेजुएको राजधानी काराकासमा भएका हवाई हमलाहरू भेनेजुएलाको तेल र खनिज लगायतका रणनीतिक स्रोतहरू कब्जा गर्ने उद्देश्यले प्रेरित रहेको सरकारको दाबी छ।
राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’ को अवस्थालाई मध्यनजर गर्दै राज्यको विशेष आदेशमा हस्ताक्षर गरी तत्काल लागू गर्न निर्देशन दिनुभएको छ । भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको यस कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै यसले राष्ट्रको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती तोड्न खोजिरहेको आरोप लगाएको छ। राष्ट्रपतिले उपयुक्त समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई आदेश समेत दिनुभएको छ ।
सरकारले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालन योजना सक्रिय बनाउन र यस ‘साम्राज्यवादी आक्रमण’ विरुद्ध एकजुट भएर प्रतिकार गर्न आग्रह गरेको छ। अमेरिकाले भेनेजुएलाको प्राकृतिक स्रोतमाथि आँखा गाडेर यो हमला गरेको मादुरो प्रशासनले जनाएको छ ।
अहिले भेनेजुएलामा सुरक्षा सतर्कता उच्च पार्दै सरकारी विज्ञप्तिको थप विवरणहरू सार्वजनिक हुने क्रम जारी छ ।