अमेरिकाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई हिरासतमा लिएको दाबी गरेका हुन्।।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यसको पुष्टि गर्दै उनीहरूलाई समातेर भेनेजुएला बाहिर लगिएको जानकारी दिए। अमेरिकी कानुन कार्यान्वयन निकायहरूसँगको समन्वयमा यो अप्रेसन सफलतापूर्वक सम्पन्न भएको ट्रम्पको भनाइ छ। यसबारे थप विस्तृत विवरण सार्वजनिक गर्न उनले फ्लोरिडास्थित मार–ए–लागोमा स्थानीय समय अनुसार बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने घोषणा गरेका छन्।
यो घटनालाई ल्याटिन अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य र राजनीतिक परिवर्तनको रूपमा हेरिएको छ। ट्रम्पले आधिकारिक वक्तव्य जारी गर्दै अमेरिकी सुरक्षा बलले एक विशेष अभियानअन्तर्गत भेनेजुएलाका ‘विवादित’ राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरेको जनाएका छन्।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार काराकासको केन्द्रमा रहेको ‘ला कार्लोटा’ सैन्य विमानस्थल र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’ मा शक्तिशाली विस्फोट भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सैन्य क्षेत्रबाट धुँवाको मुस्लो निस्किएको र आकाशमा विमानहरू उडिरहेको देखिएको छ।
पछिल्ला केही हप्तादेखि अमेरिका र भेनेजुएलाबीच तनाव उत्कर्षमा पुगेको थियो। राष्ट्रपति ट्रम्पले मादुरोमाथि दबाब बढाउँदै लगेका थिए। अमेरिकाले लामो समयदेखि मादुरोलाई अन्तर्राष्ट्रिय लागूऔषध ओसारपसार गिरोहको नेतृत्व गरेको आरोप लगाउँदै आएको थियो , जसलाई मादुरोले सधैँ अस्वीकार गर्दै आएका थिए।
भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकी सैन्य आक्रमकताको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायसामु अमेरिकाको यो कदम सैन्य हस्तक्षेप भएको बताएको छ
स्मरण रहोस्, अमेरिकाले मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने सूचना दिने व्यक्तिलाई ५ करोड डलर पुरस्कारको समेत घोषणा गरेको थियो। पछिल्ला केही महिनादेखि यस क्षेत्रमा अमेरिकी सैन्य परिचालन बढाइएको थियो, जसलाई धेरैले मादुरो विरुद्धको आन्तरिक विद्रोहको तयारीका रूपमा बुझेका थिए। ट्रम्पले मादुरोलाई कहाँ राखिएको छ भन्नेबारे केही खुलाएका छैनन्। भेनेजुएला सरकारले पनि उनी पक्राउ परेको औपचारिक पुष्टि गरिसकेको छैन।