महिनौँदेखि अमेरिकी जासुसहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको हरेक चाल निगरानीमा राखेका थिए । भेनेजुएला सरकारभित्रकै एक स्रोतसहितको सानो टोलीले ६३ वर्षीय मादुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे र वरिष्ठ सैन्य अधिकारीहरूका अनुसार ‘उनका घरपालुवा जनावर’ बारे समेत निगरानीमा थिए ।
त्यसपछि, डिसेम्बरको सुरुमा ‘अपरेसन एब्सोल्युट रिजल्भ’ नाम दिइएको मिसनलाई अन्तिम रूप दिइयो। यो महिनौँको सूक्ष्म योजना र पूर्वाभ्यासको नतिजा हो , जसमा अमेरिकी एलिट सैनिकहरूले अभ्यासका लागि मादुरोको कराकसस्थित सेफ हाउस को हुबहु नक्कल समेत तयार पारेका थिए।
शीतयुद्ध यता ल्याटिन अमेरिकामा कहिल्यै नदेखिएको असाधारण अमेरिकी सैन्य हस्तक्षेप मानिएको यो अपरेसनलाई अत्यन्त गोप्य राखिएको थियो। अमेरिकी संसद् (कंग्रेस) लाई यसबारे पूर्वजानकारी वा परामर्श दिइएको थिएन। विस्तृत विवरण तय भएपछि, वरिष्ठ सैन्य अधिकारीहरू आक्रमणको लागि उपयुक्त समय पर्खि रहेका थिए ।
शनिबार अधिकारीहरूले बताए अनुसार उनीहरू आक्रमणमा ‘आश्चर्य’ कायम राख्न चाहन्थे। चार दिन अघि नै राष्ट्रपति ट्रम्पले अनुमति दिएका थिए तर पनि खराब मौसम र बादलका कारण मिसन रोकिएको थियो।
‘क्रिसमस र नयाँ वर्षका हप्ताहरूमा अमेरिकी सेना धैर्यपूर्वक सही समय र राष्ट्रपतिको आदेश पर्खेर बसेका थिए,’ देशका सर्वोच्च सैन्य अधिकारी जनरल ड्यान केनले शनिबार बिहानको पत्रकार सम्मेलनमा बताए ।