असोज २९ गते २०८३ || October 15, 2026

अमेरिकी आक्रमणमा परि भेनेजुएलाका ४० जनाको मृत्यु


आइतबार, पुस २० २०८२१२:२३

अमेरिकी आक्रमणमा परि  भेनेजुएलाका ४० जनाको मृत्यु

अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा परि कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले बताएको छ ।


शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्‍याएर हिरासतमा राखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताए पनि  न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरु मारिएका छन् ।

नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको  छ, ‘अमेरिकी सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाले  ज्यान गुमाएका छन् ।’अरू क्षतिबारे भने  विवरण सार्वजनिक भएको छैन।


अमेरिकी अधिकारीहरूले उक्त अखबारलाई बताएअनुसार, आक्रमणमा ठूलो स्तरको हवाई अभियान समावेश थियो, जसको उद्देश्य भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्नु थियो, ताकि त्यसपछि स्थल सेनाको परिचालन गर्न सकियोस् ।

‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारियो, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइए र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरे,’ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ ।

अमेरिकाको ह्वाइट हाउस वा पेन्टागनबाट मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै सार्वजनिक पुष्टि भएको छैन ।

अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रातारात गरिएको सफल अपरेसन भनेका छन् ।


ट्रम्पले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि भनेका छन् ।

हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाली रहेकी छन् ।

न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले शनिबार बिहानै अभियोग पत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करी गरेको लगायतका विभिन्न आपराधिक आरोप लगाएका छन् ।

आलोचकहरूले भने अमेरिकाको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएला मात्र होइन, समग्र क्षेत्रमै थप अस्थिरता निम्त्याउने जोखिम रहेको चेतावनी दिएका छन् ।

अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठक बस्दैछ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend