अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई उनकी पत्नी सहित कब्जामा लिएपछि चीनले कडा प्रतिक्रिया दिएको छ। चीनको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाको यो कदमलाई सार्वभाैम राष्ट्रविरुद्ध खुलेआम सैन्य बल प्रयोग भन्दै कडा शब्दमा आलोचना गरेको छ।
विज्ञप्तिमा भनिएको छ कि कुनै पनि सार्वभाैम देशका राष्ट्रपतिविरुद्ध यस प्रकारको सैन्य कारबाही गर्नु अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको चार्टरका आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लङ्घन हो। चीनले अमेरिकाको यो व्यवहारलाई उसको वर्चस्ववादी (हेजेमोनिक) सोचको प्रतिविम्ब बताएको छ।
चीनले चेतावनी दिँदै भनेको छ कि अमेरिकाको यो कदमले भेनेजुएलाको संप्रभुतामाथि मात्र होइन, सम्पूर्ण ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्ति र सुरक्षामाथि समेत गम्भीर खतरा निम्त्याएको छ।
बेइजिङले स्पष्ट रूपमा भनेको छ कि यस्ता कदमहरूले क्षेत्रीय अस्थिरता बढाउने काम मात्र गर्छन्।
चीनले आफ्नो बयानमा अमेरिकासँग अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको चार्टरका उद्देश्य र सिद्धान्तहरूको सम्मान गर्न आग्रह गरेको छ। साथै, अन्य देशहरूको संप्रभुता र सुरक्षामा हस्तक्षेप गर्ने सबै गतिविधि तुरुन्त रोक्न माग गरेको छ।
उल्लेखनीय छ कि अमेरिकाले पूर्ण तयारीका साथ आफ्ना सुरक्षा बलहरू प्रयोग गरी भेनेजुएलाका राष्ट्रपति मादुरोलाई कब्जामा लिएकाे हो ।