असोज ३० गते २०८३ || October 16, 2026

ट्रम्पको धम्की- भेनेजुएलामा फेरि सैन्य कारबाही हुन सक्छ


सोमबार, पुस २१ २०८२११:२०

ट्रम्पको धम्की- भेनेजुएलामा फेरि सैन्य कारबाही हुन सक्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि फेरि सैन्य कारबाही हुन सक्ने बताउनु भएको छ ।

भेनेजुएलामा सैन्य कारबाही गरी राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको भोलिपल्ट ट्रम्पले त्यहाँ फेरि सैन्य कारबाही हुन सक्ने बताउनु भएको हो ।

आइतबार निजी विमान एयरफोर्स वानभित्र पत्रकारहरूसँगको कुराकानी भेनेजुएलाले अमेरिकासँग सहकार्य नगरे फेरि हमला हुन सक्ने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बताएको छ।

उहाँले कोलम्बिया र मेक्सिकोलाई अमेरिकामा लागुऔषध तस्करी रोक्न चेतावनी दिनुभयो । नरोके उनीहरूमाथि पनि सैन्य कारबाही हुन सक्ने भनेर ट्रम्पले धम्की दिएको रोयटर्सले जनाएको छ।

मदुरोलाई नियन्त्रणमा लिएर अमेरिका ल्याएपछि ट्रम्पले भेनेजुएलामा तत्काल अमेरिकी नियन्त्रण रहने बताउनु भएको थियो ।

त्यस्तै तेल कम्पनीहरूलाई भेनेजुएला लैजाने र अर्बौं डलर खर्च गरेर बिग्रिएको तेल पूर्वाधार, विशेषगरी तेलसम्बन्धी संरचना मर्मत गर्ने  बताउनु भएको थियो । यसबाट भेनेजुएलाले आम्दानी गर्ने र छिट्टै समृद्ध बन्ने बताउनु भएको थियो ।

मदुरोको पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति बन्नुभएको छ । ट्रम्पले अमेरिकी चाहनामा भेनेजुएलाले सहकार्य नगरे त्यहाँ फेरि हमला गर्ने चेतावनी दिनुभएको हो ।

भेनेजुएलाको सत्तारूढ दलका वरिष्ठ नेता दियोस्दादो काबेलोले अमेरिकाको नियत अन्ततः खुलस्त भएको बताउनु भएको छ । 'उनीहरूलाई हाम्रो तेल मात्र चाहिएको रहेछ भन्न खुलस्त भयो,' उहाँले भन्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend