बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले बताएका छन् ।
मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको बताइएको छ । बुधबार राति ८ः४० बजे राजधानीको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा अज्ञात बन्दुकधारीले अजिजुरलाई निशाना बनाएर गोली हानेको बताइएको छ ।
तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडीसी) फजलुल करिमले मुसब्बिरको मृत्यु भएको पुष्टि गर्नु भएको छ ।उहाँले स्टार कबाबको छेउमा रहेको गल्लीमा अज्ञात समूहले दुई जनालाई गोली हान्दा मुसब्बिरको मृत्यु भएको उल्लेख गर्दै अर्को जना व्यक्तिलाई उपचारका लागि ढाका मेडिकल कलेजमा पठाइएको बताउनु भएको छ ।
मोटरसाइकलमा आएका आक्रमणकारीहरूले फार्मगेट पार गरेपछि कारवान बजारमा स्टार कबाब अगाडि गोली आन्दा मुसब्बिर र अबु सुफियान गम्भीर घाइते भएकोमा मुसब्बिरलाई बीआरबी अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा मृत्यु भएको उल्लेख गरिएको छ ।