इरानमा हालैका दिनमा भइरहेको सरकारी विरोधी प्रदर्शनमा २ हजार ५०० भन्दा धेरैको मृत्यु भएको खबर आइरहेको छ । यस खबरप्रति इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले प्रतिक्रिया दिनु भएको छ । विरोध प्रदर्शनमा हजारौँ मानिसहरूको मृत्यु भएको दाबीलाई उहाँले अस्वीकार गर्नु भएको छ ।
‘यी दाबीहरू निराधार छन् । यसको कुनै प्रमाण छैन । मृत्यु हुनेको सङ्ख्या सयमा मात्र छ ।’ फक्स न्यूजसँगको एक अन्तर्वार्तामा अराघचीले भन्नुभयो । मृत्यु हुनेको सङ्ख्या सरकारले छिटै जारी गर्ने पनि उहाँले बताउनु भयो । डिसेम्बर २८ देखि इरानमा जारी विरोध प्रदर्शनमा हजारौँ मानिसहरूको मृत्यु भएको दाबी मानवअधिकार सङ्गठनहरूले गरेका छन् । मृत्यु हुनेको सङ्ख्या २,००० देखि ५,००० सम्म रहेको रोयटर्स समाचार एजेन्सीले बताएको छ ।
इरानभित्र र बाहिरका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसले मृत्यु हुनेको सङ्ख्या लगभग १२ हजार आसपास रहेको बताएको छ । इजरायली गुप्तचर स्रोतहरूले मृत्यु हुनेको सङ्ख्या लगभग पाँच हजार रहेको बताएको भन्दै एक्सियोस समाचार वेबसाइटले एक समाचारमा भनेको छ ।