असोज ३० गते २०८३ || October 16, 2026

ट्रम्पको सात सदस्यीय ‘शान्ति बोर्ड’ घोषणा


शनिबार, माघ ३ २०८२१२:५३

ट्रम्पको सात सदस्यीय ‘शान्ति बोर्ड’ घोषणा

ह्वाइट हाउसले गाजाको पुनर्निर्माण र संक्रमणकालीन शासन निरीक्षण गर्ने ‘शान्ति बोर्ड’का सदस्यहरू सार्वजनिक गरेको छ। यो बोर्डको अध्यक्षता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै गर्नुहुनेछ । 

संस्थापक कार्यकारी बोर्डमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफ, ट्रम्पका ज्वाइँ जारेड कुशनर, बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर, विश्व बैंक अध्यक्ष अजय बांगा, अर्बपति मार्क रोवन र ट्रम्पका सल्लाहकार रोबर्ट गेब्रियल समावेश हुनुहुन्छ।

यस्तै, गाजामा दैनिक शासन सञ्चालन गर्न राष्ट्रिय समिति (एनसीएजी) गठन भएको छ, जसको नेतृत्व गाजाका प्यालेस्टिनी डा. अली शाथले गर्नुहुनेछ । यो समितिले मुख्य सार्वजनिक सेवा र संस्थाहरू पुनर्स्थापित गरी जीवन सामान्य बनाउन केन्द्रित हुनेछ। बुल्गेरियाली कूटनीतिज्ञ निकोले म्लाडेनोभलाई गाजाका लागि उच्च प्रतिनिधि नियुक्त गरिएको छ। उहाँ पहिले संयुक्त राष्ट्रसंघको मध्यपूर्व शान्ति प्रक्रियाका विशेष संयोजक हुनुहुन्थ्यो ।

ट्रम्पको २० बुँदे योजनाअनुसार यो बोर्डले सुधारिएको प्यालेस्टिनी प्राधिकरणले पूर्ण नियन्त्रण नलिँदासम्म गाजा निरीक्षण गर्नेछ। यसले ‘प्यालेस्टिनी आत्मनिर्णय र राज्यत्वको विश्वसनीय बाटो’ खोल्ने अपेक्षा छ। केही विज्ञहरूले यो बोर्डलाई औपनिवेशिक संरचना जस्तो भन्नु भएको छ भने ब्लेयरको संलग्नतालाई इराक युद्धका कारण आलोचना गरिएको छ।

गाजामा युद्धविरामपछि पनि हिंसा जारी छ। अक्टोबरयता ४६३ भन्दा बढी प्यालेस्टिनी (सयभन्दा बढी बालबालिका सहित) र तीन इजरायली सैनिक मारिएका छन्। अक्टोबर ७, २०२३ मा हमासको आक्रमणमा इजरायलमा करिब १२ सय जना मारिएका थिए। त्यसपछि इजरायलको जवाफी आक्रमणमा गाजामा ७१ हजारभन्दा बढीको मृत्यु भएको छ, जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका छन्। झन्डै दुई लाख घाइते र १० हजार बेपत्ता छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend