असोज ३० गते २०८३ || October 16, 2026

विमान दुर्घटना : विशेषज्ञ टोलीले सुरू गर्यो शव पोष्टमार्टम


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०४:५७

विमान दुर्घटना : विशेषज्ञ टोलीले सुरू गर्यो शव पोष्टमार्टम

 काठमाडौँ - आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि  गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए। पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् । 

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ । पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ । 

पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना : विशेषज्ञ टोलीले सुरू गर्यो शव पोष्टमार्टम
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend