काठमाडौं - शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारीको अढाई वर्षपछि याे संख्या सबैभन्दा धेरै हो ।
विगत महिनाहरुमा भन्दा मार्च महिनामा समेत पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको र शनिबारको तथ्याङ्कले कोभिड–१९ महामारीले सुस्ताएको नेपालको पर्यटन क्षेत्र बिस्तारै पुरानै गतिमा जान थालेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
यो मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ । यो तथ्याङ्क गत वर्षको तुलनामा १८०।४७ प्रतिशतले वृद्धि हो । गत वर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटन नेपाल भित्रिएका थिए ।
पर्यटकको संख्यामा वद्धि भएसँगै मुख्य पर्यटकीय क्षेत्र काठमाडौं, लुम्विनी, सौराहा, पोखरालगायतका स्थानका होटल भरिभराउ भएको व्यवसायीहरुले जनाएका छन् । पर्यटक आउने निश्चित भएसँगै होटल पाउन छाडेपछि थप बुकिङमा समय लाग्ने गरेको नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपालका महासचिव सरिता लामाले बताउनुभयो । विदेशीसँगै नेपालका पर्यटक समेत नयाँ वर्षमा भ्रमण गर्नेको संख्या बढ्दाे भएकाले आजभोलि होटल भरिभराउ भएको उहाँको भनाइ छ । दुई वर्षसम्म पर्यटक आगमन शून्य जस्तै भएपछि होटल र पर्यटन व्यवसाय ठप्प भएको थियो ।
विभागको तथ्याङ्कअनुसार मार्च महिनामा नेपाल भित्रिने पर्यटक मध्ये सबैभन्दा धेरै सार्क मुलुकबाट ४२.०४ प्रतिशत रहेको छ । युरोपबाट २६.८५ प्रतिशत र एसियाबाट ४.१८ प्रतिशत रहेका छन् । धेरै पर्यटक आउने देशहरु मध्ये युकेबाट ९.५९ प्रतिशत अर्थात चार हजार २९ जना, अमेरिकाबाट ११.६६ प्रतिशत अर्थात चार हजार ८९६ जना, अष्ट्रेलिया ३.४४ प्रतिशत एक हजार ४४४ जना, जर्मनबाट ४.३३ प्रतिशत एक हजार ११७ जना र फ्रान्सबाट ३.८७ प्रतिशत एक हजार ६२५ रहेका छन् ।