असोज ३० गते २०८३ || October 16, 2026

यूएसएआईडीद्वारा नेपाललाई  पाँच करोड ८५ लाख अमेरिकी डलर सहयोग गर्ने, परराष्ट्रमन्त्रीसँगको भेटमा के भयो छलफल ? 


बुधबार, माघ २५ २०७९०७:१४

यूएसएआईडीद्वारा नेपाललाई  पाँच करोड ८५ लाख अमेरिकी डलर सहयोग गर्ने, परराष्ट्रमन्त्रीसँगको भेटमा के भयो छलफल ? 

काठमाण्डौँ - अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसएआईडीले नेपाललाई यस वर्ष साढे सात अर्ब रुपियाँ विकास सहायता प्रदान गर्ने भएको छ । नेपाल भ्रमणमा रहेकी यूएसएआईडीका प्रशासक समान्था पावरले नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन नेपाल सरकारको सहयोगार्थ पाँच करोड ८५ लाख अमेरिकी डलर करिब साढे सात अर्ब रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरिन् । घोषित सहयोग रकममध्ये चार करोड दुई लाख डलर यसअघि नियोगद्वारा सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश रहेको जनाइएको छ । 

यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, नेपाली युवाको सशक्तीकरण गर्ने र लोकतन्त्रले नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको औँल्याउँदै यस कार्यमा अमेरिकाको साझेदारी रहने विश्वासका साथ सहयोग घोषणा गरिएको जनाइएको छ । 

परराष्ट्रमन्त्रीसँग भेट

परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसमक्ष अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडीका प्रशासक समान्था पावरले भेट गरी नेपाल–अमेरिकाबीचको सम्बन्धमा विविध विषयमा छलफल गरेका छन् । मङ्गलबार भएको भेटमा एमसीसी कार्यान्वयन, जलवायु परिवर्तन, नेपाललाई अति कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति गरिएपछि प्रदान गरिने सहयोगलगायतका विषयमा  छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

भेटमा परराष्ट्रमन्त्री पौड्यालले अ‍ेमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभयो। प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट गरिने सहयोगमा थप वृद्धि  गरिने प्रतिबद्धता व्यक्त गरिन् ।


  • सम्बन्धित विषय:

  • # यूएसएआईडीद्वारा नेपाललाई  पाँच करोड ८५ लाख अमेरिकी डलर सहयोग गर्ने, परराष्ट्रमन्त्रीसँगको भेटमा के भयो छलफल ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend