साउन ९ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा भएको हो । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुनसक्ने जोखिम बढेको जनाइएको छ ।
जल तथा मौसमविज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको बताएको हो । बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्कनेलाई सतर्कता अपनाउन जल तथा मौसमविज्ञान विभागले अनुरोध गरेको छ ।