रास्वपाले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ।
रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो।
रास्वपाले त्यसलाई गाउँ-गाउँ पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने माध्यम बनाएपछि प्रश्न उठेको थियो।
मेडिकल कलेजले पुरानै रङमा फर्काएर गाडी चलाउन भने पनि आफूहरूले अर्को गाडी भाडामा लिएको उनले बताए।
‘आज जुगेडीमा अर्कै गाडीसहित डाक्टरहरू गएर
मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेर अर्को गाडी भाडामा लिने तयारी भइरहेको रास्वपाका सभापति रवि लामिछानेको सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले जानकारी दिनुभएको छ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ ले आफूखुसी रङ परिवर्तन गर्न दिँदैन। सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ।
तर रास्वपाले स्वीकृति नलिएको भन्दै आलोचना भएकोबारे पनि उनले प्रष्टीकरण दिए।
बस निर्बाध चल्ने पनि उनले बताए।
सभापति रवि लामिछानले पनि फेसबुक स्ट्याटसमार्फत् ‘मोबाइल क्लिनिक’ नरोकिने बताएका छन्।
‘कठै! मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालु छ। आज जुगेडी क्षेत्रमा बा-आमाको सेवामा हुनेछ, यो रोकिने होइन। छिट्टै २ वटा हुन्छ,’ उनले भनेका छन्, ‘ब्लु बसमा पनि कुनै समस्या छैन।’
आलोचना भइरहेकोतर्फ लक्षित गर्दै उनले मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि भन्दै प्रश्न पनि गरेका छन्।
‘भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला...हैट हेडलाइन आतंक र हैरानी। सक्दैनौ, सक्दै त सक्दैनौ,’ उनले भनेका छन्।
लामिछानेले उपनिर्वाचन जितेको सय दिनका अवसरमा आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ब्लु बस र मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए। बसले महिलाहरूलाई निःशुल्क आवतजावतको सेवा दिइरहेको छ।