राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने धारणा व्यक्तगरेका छन्।
नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखेका छन्।
राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनु परेको यथार्थबारे आफू अनभिज्ञ नरहेको स्पष्ट पारेका छन्।
राष्ट्रपति पौडेलले भविष्यमा हुन सक्ने खाद्य सङ्कट समाधान गर्नेतर्फ मुलुकको ध्यान जानुपर्नेमा जोड दिए । उनले भने , “नेपालमा जनसङ्ख्या बढ्ने तर उत्पादन घट्दै जाने गरेको छ । युवा जनशक्तिको बढ्दो विदेश पलायनलाई रोकेर हामीले कृषिलाई आधुनिकीकरण गरी उत्पादनलाई बढाउनेतर्फ ध्यान केन्द्रित गर्नु पर्छ ।”
उनले नेपालमा रोजगारी सिजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिनअगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए ।उनले भने “धेरै राजनीतिको तानाबानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचक सकारात्मक रहे पनि आमनागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए । उहाँले स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी घरेलु उत्पादनमा जोड दिँदै आयात घटाएर निर्यात बढाउनेतर्फ सबै लाग्नुपर्ने बताएका छन्।