लक्ष्मीपूजाको दिन आइतबार साँझ विद्युतको उच्च माग एक हजार ४०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणले गतवर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ पिक डिमाण्ड ९५ मेगाावाट बढ्ने प्रक्षेपण गरेको हो ।
कुनै समय लोडसेडिङको चपेटामा परेर लक्ष्मीपूजा अन्धकार रातमा मनाउन पर्ने अवस्था थियो । तर अहिले भने विद्युत् पर्याप्त रहेका कारण गाउँ, सहर नै झिलिमिली भएको छ ।
प्राधिकरणको तथ्याङ्क अनुसार अहिले समग्र सिस्टमको पिक डिमाण्ड एक हजार ९८५ मेगावाट छ । जसमा नेशनल पिक डिमाण्ड एक हजार ५६७ मेगावाट छ । औद्योगिक लोड घटेसँगै नेशनल पिक डिमाण्ड पनि घटेको छ । प्राधिकरणका अनुसार केही दिन पहिलेसम्म एक हजार ७०० मेगावाट नेशनल पिक डिमाण्ड थियो ।
प्राधिकरणले नौ हजार ६६८ मेगावाट आवर, प्राधिकरणको सहायक कम्पनीले सात हजार ४१९ मेगावाट आवर, निजी क्षेत्रले २१ हजार ३१६ मेगावाट आवर उत्पादन गरिरहेका छन् । आन्तरिक खपत भएर बढी भएको आठ हजार ९५४ मेगावाट आवर बिजुली भारत निर्यात भइरहेको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध–जलाशययुक्त जलविद्युत् आयोजना निर्माण भएपछि नेपालले विद्युतमा गुणात्मक फड्को मारेको हो ।
तर आत्मनिर्भर हुन भने सकेको छैन । हिउँदमा ४५० मेगावाटसम्म भारतबाट आयात गरेर आन्तरिक माग पूरा गर्ने गरिएको छ ।