इलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगङ्गा नगरपालिकाबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपियाँ बरामद गरेका छन।
नगरपालिकाको वडा नम्बर ४ जितपुरस्थित केसी फेन्सी स्टोरमा भारतीय नोटको कारोबार हुँदै गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा चार जनाको साथबाट उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताएका छ।
पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ बस्ने वर्ष ३० को गोविन्द विक, कपिलवस्तु मायादेवी गाउँपालिका ८ वर्ष ३८ को सोमनाथ कसौधन, कपिलवस्तु नगरपालिका ११ का वर्ष ४२ का शेष नारायण गिरी र बुटवल उपमहानगरपालिका १६ का वर्ष ४१ को वसन्त खरेल रहेको जनाइएको छ।
प्रहरीले विक को साथबाट भारतीय पाँच सयका नोट एक हजार आठ सय थान गरी भारु नौ लाख (१४ लाख ४हजार नेपाली रुपियाँ) र कसौधनको साथबाट १४ लाख ५० हजार नेपाली रुपियाँ बरामद गरेका छन् । उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय रूपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।