युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ’पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले बताएको छ । विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताएका हुन ।
विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय लण्डन विमानस्थल बन्द भएको थियो भने बेलुकि पछि आंशिकरूपमा उडान सेवा सञ्चालनमा आएको उनले बताए । शनिबार सेवा पुनः सुरु भएपछि पनि केही उडानको छुट्ने र अवतरण गर्ने तालिका प्रभावित हुने अपेक्षा गरिएको छ ।
बिहीबार राति भएको आगलागी ‘शङ्कास्पद नभएको’ र अनुसन्धान ‘विद्युतीय वितरण उपकरणमा केन्द्रित हुने’ अधिकारीहरूले बताएका छन् । यसअघि लण्डनको महानगरीय प्रहरी बलको आतङ्कवादप्रतिरोधी कमान्डले आगोको प्रभावलाई ध्यानमा राखेर अनुसन्धानको नेतृत्व गरिरहेको बताएका छन ।
हरेक दिन करिब दुई लाख ३० हजार यात्रुले हिथ्रो विमानस्थलको प्रयोग गर्छन् । विमानस्थलले वार्षिक आठ करोड ३० लाख यात्रीलाई सेवा दिन्छ । हिथ्रो विमानस्थलबाट करिब ८० देशमा उडान हुँदै आएको छ । अवरोधको परिमाणले बेलायतको यात्रा पूर्वाधारको महत्त्वपूर्ण टुक्राहरू मध्ये एकको कमजोरीको बारेमा प्रश्न उठाएको छ ।