नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई आज (मंगलबार) बिहान कार्यकक्षमै प्रवेश गरी एक समूहले कुटपिट गरेको छ।
चितवनस्थित भरतपुर वितरण केन्द्रका प्रशासन प्रमुख नन्दराम विष्टका अनुसार विद्युत् ग्राहकका लागि सूचना राख्ने गरिएको कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटिएको हो।
‘बेलैमा बिल तिरौँलगायत ग्राहकका लागि चेतनामूलक सूचना राख्ने गरिएको डिजिटल बोर्डमा एक्कासि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको आपत्तिजनक कुरा देखायो, थाहा पाउनासाथ हामीले डिलिट गर्यौँ’, प्रशासन प्रमुख विष्टले नेपालखबरलाई सुनाए, ‘यसैका विषयमा कसले ह्याक गर्यो र त्यस्तो कुरा राख्यो भन्ने विषयमा हामी छलफल गरिरहेका थियौँ, त्यही बेला एक्कासि ३०/४० जनाको जत्था प्रवेश गरी कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख श्रेष्ठलाई हातपात गर्यो।’