नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयमा सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेस दुई धारमा देखिएको छ । सभापति शेरबहादुर देउवासहित एउटा धार र शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अर्को धार देखिएको हो ।
घिसिङलाई नेपालमा लोडसेडिङ हटाउन नेतृत्व गरेको श्रेय दिइन्छ । मन्त्री खड्का कुलमानको पछि लाग्दा सरकार कर्मचारीको पछि लाग्न नहुने कांग्रेस नेताहरूले बताउँदै आएका थिए । मन्त्रिपरिषद्बाट कुलमान हटाउने निर्णय भएपछि नेपाली कांग्रेसका नेताहरूले विरोध जनाएका छन।
कसरी तयार भए देउवा ?
देउवा पार्टी प्रणालीलाई एक ठाउँमा राखेर किचन क्याबिनेटको निर्णय गराउने शैली अपनाउँदै आएका नेता हुन् । पार्टीभित्र विरोध भए पनि उनले मन्त्रीहरूलाई चलाएका छैनन् । देउवालाई कन्भिन्स गराउने काम मन्त्री खड्काले नै गरेका थिए । ‘मन्त्रिपरिषद्बाट पनि स्पष्टीकरण सोधिएको छ । अब मन्त्रिपरिषद्बाट हटाउँदा गलत सन्देश जाँदैन भनेर मन्त्रीज्यूले नै सभापतिलाई कन्भिस गर्नुभएको हो,’ स्रोतले शिलापत्रसँग भन्यो ।
मन्त्रीहरूको काम सम्पादनका बारेमा पार्टीभित्र पनि प्रश्न उठ्ने गरेको छ । तर, सभापति देउवाले आफूले सरकारको नेतृत्व गर्दा मन्त्री हटाउने विषय उठ्ने भएकाले अहिले चलाउने पक्षमा छैनन् । कांग्रेसनिकट व्यक्तिलाई गभर्नर बनाउन प्रधानमन्त्री ओली तयार भएपछि देउवाले घिसिङ हटाउन सहमति जनाएको स्रोतको दाबी छ । त्यसका लागि देउवा मात्र होइन, सांसद विनोद चौधरीमार्फत लविङ भएको छ । चौधरीनिकट व्यक्तिलाई गभर्नर बनाउने गरी आरजु राणा सहमत भएका कारणले सभापति देउवा सहमत भएको बताइएको छ ।