नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो ?’ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् । शनिबार (चैत १६) आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् ।
शुक्रबार (चैत १५) राजावादीले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोहीक्रममा एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।
गृहमन्त्री लेखक अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने, “आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईंको आदेश नमानेको हो कि हामीलाई शंका त त्यो लागिरहेको छ।”