गर्भवती श्रीमतीको हत्या गरी खाल्डो खनेर गाडेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्ने इलाम फाकफोकथुम गाउँपालिकाका उमेश गिरी हुन् । गिरीलाई गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो । श्रीमतीको हत्या गरेपछि उनले हराएको भन्दै चैत १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए अनुसन्धानका क्रममा श्रीमानमाथि नै शंका लागेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाँऔं भनी घरबाट लगेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘उमेशको बयानअनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छ, पत्नी सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरेको र खाडल खनेर गाडेको देखिन्छ। पक्राउ परेका गिरीलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।