राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना पीडादायक भएको बताएका छन् । सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो अनुभूति राख्ने क्रममा राज्यले दिएको पीडा सम्झिँदा पनि पिडादायक रहेको बताएका हुन् ।
चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको, हिरासतमा बस्दा आफ्नो डायरी खोसिएको र कहाँ जलाएको थाहा नभएको बताएका थिए । सहकारी ठगी आरोपमा रवि कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई कास्की जिल्ला प्रहरीले ८४ दिन हिरासतमा राखेको थियो । साढे पाँच महिना पछि उनी आजै जिम्मेवारीमा फर्किएका थिए ।
हामीले राणा शासन देखेका छैनौ, पञ्चायत झेल्न परेन तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पिडादायक अनुभूति गरायो। यो दौरानको समय कति पिडादायक थियो भन्ने सम्झिदा पनि पिडादायक छ।
आजको दिनमा यो लादिएको पिडा र सबै सङ्घर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने भाष्य स्थापित भइसकेको छ। चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो।
गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौँ ।
यो सबैको लागि म सङ्गठनमा भारी रूपमा फेरबदल र पुनर्संरचनामा जान चाहन्छु, यसको लागि सबैलाई तयार रहन भन्न चाहन्छु। अरू दलमा अवसर नपाएर मात्रै आउने ठाउँ हैन राष्ट्रिय स्वतन्त्र पार्टी, यो देश बनाउनको लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी हो।
मैले के गर्नुपर्छ भन्नुस्। १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय भेलाबाट घोषणा गरेकै समयमा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गर्ने प्रतिबद्धता सहितको निर्देशन दिन चाहन्छु।