निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथिको अन्यायविरुद्ध सङ्घर्षरत नेपाल चिकित्सक सङ्घको आन्दोलनप्रति समर्थन जनाउँदा देशभरका सरकारी अस्पताल प्रभावित भएका छन्। सङ्घको आह्वानमा भएको आन्दोलनलाई समर्थन गर्ने स्वास्थ्यकर्मीका कारण उदयपुरको जिल्ला अस्पतालको सेवा ठप्प भएको छ।
सङ्घको आन्दोलनमा समर्थन जनाएका स्वास्थ्यकर्मीले शुक्रबारदेखि आकस्मिक र सघन उपचार सेवाबाहेक अन्य सबै सेवा बन्द गरेपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन्।
सङ्घले माग पूरा नभएसम्म अस्पताल सुचारु नगर्ने अडान लिएको छ। शुक्रबारदेखि अस्पतालको ओपीडी सेवा बन्द गरेको सङ्घले माग पूरा नभए आइतबारदेखि निजी मेडिकल र क्लिनिकसमेत बन्द गरेर स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ।