असोज ३० गते २०८३ || October 16, 2026

नेपाल पुलिस क्लब एमएम कप क्रिकेटको फाइनलमा


बिहीबार , वैशाख १८ २०८२०३:३९

नेपाल पुलिस क्लब एमएम कप क्रिकेटको फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको हो।

पुलिस समुह ‘बी’ को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन्। समुह ‘ए’ को विजेताको रुपमा आर्मी यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा पुलिसले ६ विकेटको जित दर्ता गर्‍यो ।

अघिल्लो खेलमा कोशी प्रदेशसँग पराजित भएको पुलिसले फाइनल पुग्न आसामले दिएको १५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने थियो। पुलिसले २६.१ ओभरमा ४ विकेट मात्र गुमाएर जित दर्ता गर्यो।

पुलिसको ब्याटिंगमा अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धशतकीय योगदान दिए। अमितले ७२ बलमा ५ चौका र ३ छक्का मद्दतले ७१ रन बनाए। यस्तै छैटौं नम्बरमा ब्याटिङ गरेका शंकरले ६७ बलमा ४ चौका र ४ छक्का मद्दतले ६३ रन बनाए।

४३ रनमा ४ विकेट गुमाएको अवस्थामा अमित र शंकरले पाँचौ विकेटको लागि अविजित ११७ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। आसामको बलिङमा गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए। चिरन्तन खात्तिनियरले १ विकेट लिए।


पुलिसको बलिङमा देब्रे हाते स्पिनर अरुण ऐरी र दायाँ हाते पेसर श्रवन यादवले ३/३ विकेट लिए। ऐरीले ९ ओभरमा १ मेडन गर्दै १७ रन खर्चिए भने यादवले ३ ओभरमा ७ रन खर्चिए। बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले १/१ विकेट लिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend