काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि दोस्रो संस्करणको ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ ।
अघिल्लो वर्षझैँ टुँडिखेलमा सञ्चालन गर्न लागिएको उक्त मेलामा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिए ।
पन्ध्र हजार युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा पाँच हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८०/८१ देखि महानगर गौरबको योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कामपाले कार्यान्वयनमा ल्याएको छ ।
रोजगार र स्वरोजगारमा आबद्ध नहुनु भएका र कामपाको सम्पर्कमा रहनुभएका जनशक्तिलाई उद्योग तथा कम्पनीसँग सहकार्य गरेर कामपाले अन द जब ट्रेनिङ गराइरहेको छ ।यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने बताइएको छ ।