देशका धेरै स्थानमा गए राति (वैशाख २०)देखि वर्षा भइरहेको छ । आज (वैशाख २१) दिनभरजसो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यति बेला काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका केही स्थानमा पानी परिरहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाका मौसमविद् डेविड ढकालले जानकारी दिए । केही समयपछि लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताए ।
उनका अनुसार, यस दिन घाम लाग्ने सम्भावना छैन । बदली (आकाशमा बादल/वर्षा) हुने उनले बताए । “केही बेर रोकिए पनि फेरि पानी पर्नेजस्तो देखिन्छ,” उनले बाह्रखरीसित भने, “खासै घाम लाग्ने देखिन्न ।”
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ । “गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,” उनले भने ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगलाको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले वर्षा भएको उनले बताए ।
काठमाडौंमा पनि दिनभरजसो बदली/वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भने ।