इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा अमेरिकी–इजरायली बन्धकको रिहाइले युद्धविराम वा प्यालेस्टिनी कैदीको रिहाइ सुनिश्चित गर्ने छैन भन्ने स्पष्ट पारेका छन् ।
हमासले अमेरिकी–इजरायली बन्धक एडन अलेक्जान्डरको रिहाइको घोषणा गरेपछि नेतन्याहुले जारी गरेको विज्ञप्तिमा ‘इजरायल युद्धविराम वा आतङ्ककारीको रिहाइमा सहमत छैन, तर सुरक्षित मार्गमार्फत एडनको रिहाइको लागि प्रतिबद्ध छ,’ भनिएको छ ।
२१ वर्षीय अलेक्जान्डरको परिवारले उनलाई ‘आगामी दिनमा’ रिहा गरिन सक्ने जनाएका छन् । नेतन्याहुका अनुसार उक्त प्रक्रिया सैन्य दबाबकै परिणाम हो ।
यहीबीच, इजरायली आक्रमण जारी छ । जबालिया सहरको एक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । दर्जनौँ घाइते भएका छन् ।
इजरायली सेनाका अनुसार ७ अक्टोबरको हमास आक्रमणमा कब्जा गरिएका ५८ मध्ये ३४ बन्धकको मृत्यु भइसकेको छ ।