पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।
‘‘सवारी दुर्घटनालाई दुर्घटनाको पनि महारोग भन्ने चलन रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘ट्राफिक नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सवारी चालक तथा यात्रुले राम्रोसँग ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान जोगाउन सकिने बताउनुभयो ।
‘‘ट्राफिक जनचेतना सप्ताहमूलुक कार्यक्रममा ट्राफिक नियमको पालना आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘सबैले नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने तयारी गरेको छ । जसअन्तरगत विभिन्न विद्यालयका विद्यार्थी माझ अन्तरक्रिया, सडकमा सडक सुरक्षा कार्यक्रम लगायतका गतिविधि गर्नेछ।