कात्तिक १ गते २०८३ || October 17, 2026

सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला


शुक्रबार, जेठ २३ २०८२११:५१

सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला

सशस्त्र प्रहरी बलले सप्तकोशी नदीमा बेपत्ता गोताखोरको शुक्रवार बिहानैबाट खोजी कार्य सुरु भएको छ । यसक्रममा एक जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सह–प्रवक्ता शैलेन्द्र थापाले आज बिहान जवान हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको जानकारी दिए ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहिवार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।

उनीहरुको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।


उहाँहरुको खोजी कार्यलाई तीव्रता दिइएको छ । शुक्रवार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि विजय हमालको कमान्डमा चार जना गोताखोरसहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपि विपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend