ललितपुरको सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बाहिर लफडा भएको छ । नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटन गर्नुपर्ने माग राख्दै नाराबाजी शुरु गरिएको हो ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डबाट तरुण दलका केन्द्रीय सदस्य सरोज न्यौपानेको नेतृत्वमा रोजन राईसहित झण्डै तीन सय जनाले पार्टी कार्यालयसम्म मोटरसाइकल र्याली निकालेका थिए ।
हालको नेतृत्वबाट महाधिवेशन हुन नसक्ने भन्दै उनीहरुले तदर्थ समितिको म्याद नथप्न,केन्द्रीय तदर्थ समिति भंग गर्न र सोबारे जानकारी दिन केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न माग गरेका छन् ।
प्रदर्शन तोडफोडतर्फ मोडिन सक्ने देखिएपछि पार्टी कार्यालयबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुले ‘अधिवेशन गर्न नसक्ने तदर्थ समिति विघटन गर’,‘नयाँ कमिटी गठन गर’,‘तरुण दल जिन्दावाद’ लगायतको नारा लगाइरहेका छन् ।